महाशिवरात्रिमा नागा बाबा र साधुसन्तलाई २८ लाख दक्षिणा, ४० हजार किलो दाउरा
काठमाडौं । गुठी संस्थानले महाशिवरात्रिमा पशुपति क्षेत्रमा आउने साधुसन्तका लागि खाने, बस्ने, धुनी जगाउनेलगायत स्वागत सत्कार व्यवस्थापनको तयारी शुरु गरेको छ । तयारीस्वरुप पशुपतिनाथका दर्शनार्थी साधुसन्तका लागि धुनी जगाउन ३४ हजार ८०० किलो दाउराको व्यवस्था गरिएको छ ।
पशुपतिनाथ दर्शनका लागि आउने साधु सन्तको स्तरअनुसार दक्षिणा दिन केन्द्रीय कार्यालयमा बजेट माग गरी पत्र पठाइएको गुठी संस्थान पशुपति गोश्वारा कार्यालयका प्रमुख उमा आचार्यले राससलाई जानकारी दिए । यस वर्ष ९५१ रुपैयाँ, ७५१ रुपैयाँ, ५५१ रुपैयाँ, ३५१ रुपैयाँ, २५१ रुपैयाँ र १५१ रुपैयाँ गरी छ वर्गमा स्तरअनुसार साधुसन्तलाई दक्षिणा दिने संस्थानको तयारी छ । सोका लागि केन्द्रीय कार्यालयसँग २८ लाख ६५ हजार ३७६ माग गरिएको छ ।
साधुसन्तलाई राममन्दिर, अन्नपूर्ण भण्डार, गोरखनाथ मन्दिरलगायत स्थानमा राख्ने तयारी गरिएको छ । नागा बाबालाई भने पशुपतिनाथको मूल मन्दिरभित्र नै बस्ने, खाने एवं धुनी जगाउने व्यवस्था गरिन्छ ।
संस्थानले साधुसन्तलाई फागुन कृष्ण एकादशीदेखि औँसीसम्म खाने, बस्ने र धुनी जगाउने व्यवस्था गर्ने परम्परा छ । औँसीका दिन दक्षिणासहित बिदा गरिन्छ । यस वर्ष फागुन २७ गते महाशिवरात्रि पर्व परेको छ । साधुसन्तलाई फागुन २५ गते फागुनकृष्ण एकादशीदेखि फागुन २९ गते औँसीसम्म आवासीय व्यवस्था गर्ने गरिन्छ ।
कोरोना महामारीका कारण यस वर्ष विगतमा भन्दा कम साधुसन्त आउने अनुमान गरिएको छ । पशुपति क्षेत्र विकास कोष स्थापना हुनुअघिदेखि संस्थानले महाशिवरात्रिमा साधुसन्तको व्यवस्थापन गर्ने गरेको थियो । कोष स्थापनापछि यसले पनि थप सहयोग गर्ने गरेको छ । महाशिवरात्रिमा पशुपतिनाथ आउने साधुसन्त एवं भक्तजन सबैले नाथको दर्शन गर्न पाउने गरी तयारी गर्न लागिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए ।रासस