हेटौंडा उपमहानगरको दुई वडामा गार्मेन्ट उद्योग सञ्चालन
हेटौंडाका स्थानिय वासिन्दालाई आयआर्जनमा जोड्ने उद्देश्य सहित हेटौंडा उपमहानगरपालिकाले नगरको दुई वडामा गार्मेन्ट उद्योग सञ्चालनमा ल्याएको छ ।
उपमहानगरपालिकाको लगानीमा हेटौंडा–५ र १८ मा उद्योग सञ्चालनमा आएको हो । दुवै वडामा सञ्चालन सुरु भएका उद्योगको उपमहानगरपालिकाका नगर प्रमुख मीनाकमारी लामाले उद्घाटन गरीन् । हेटौंडा–५ को हेटौंडा गार्मेन्ट समुह र १८ को हर्नामाडि स्वरोजगार महिला गार्मेन्ट उद्योगले व्यवस्थापन गर्ने छ ।
उद्योगको उद्घाटन गर्दै नगरप्रमुख लामाले दैनिक गुजाराका लागि नियमित आय आर्जन गर्न पहिलो चरणमा उपमहानगरले लगानी गरेको बताइन् । गाउँ घरमै रहेर नियमित आय सँगै सिपको निखारताको लागि यो सुनौंलो अवसर भएको उनको भनाई थियो । उनले रोजगारीको अवसर प्राप्त भएको छ यसलाई सदुपयोग गर्दै भोलिको भबिष्य सुन्दर बनाउँन शुभकामना दिइन् ।
गार्मेन्टमा पहिलो चरणको बेसिक सिलाइ कटाई तालिम लिएकाहरुलाई थप तालिम दिर्दै रोजगारीको अवसर उपमहानगरले दिएको हो । अहिले उपमहानगरले बिउँ पुँजी लगानी गरेर सुरुवात गरेको उद्योगलाई कार्यबिधी बनाएर पछिल्लो समय निजि क्षेत्रमा हस्तातरण गरीने उपमहानगरका उद्योग तथा सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेलले बताए ।
उनका अनुसार अहिले पहिलो चरणमा बेसिक सिलाई कटाइको तालिम पछि गार्मेन्टमा आएका दुई वडामा ३१ जनाले रोजगारीको अवसर प्राप्त गर्ने बताए । हेटौंडा ५ का १० र १८ का २१ जना उपमहानगरले बिउँपुजी दिएर सञ्चालन गरेको उद्योगमा रहने छन् । दुई वडामा सञ्चालनमा आएको गार्मेन्टका लागि उपमहानगरपालिकाले करिब २० लाख रुपियाँ लगानी गरेको छ । गार्मेन्टमा अहिले भएको संख्याबाट हरेक बर्ष १० जनाको दरले रोजगारीका लाग्नेहरु थप गर्नुपर्ने बताइएको छ ।
उपमहानगरले सञ्चालनमा ल्याएको हेटौंडा–५ गार्मेन्ट मेनुका श्रेष्ठ र १८ मनु भूजेलको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा ५ का अध्यक्ष सुशिल घिमिरे, १८ का अध्यक्ष अनिल बानियाँ, हेटौंडा उपमहानगरपालिका सहकारी तथा उद्योग शाखा प्रमुख हिमप्रसाद पौडेलको आतिथ्यता रहेको थियो ।