प्रजिअ श्रेष्ठलाई नारायणी संघको स्वागत

नारायणी यातायात व्यवसायी संघले मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलाई स्वागत गरेको छ ।
मकपानपुरमा प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा भई आउनुभएकी श्रेष्ठलाई संघले सोमबार एक औपचारिक कार्यक्रम गरी स्वागत तथा सम्मान गरेको हो । संघका अध्यक्ष हिरालाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा यातायात व्यवसायीहरुको वर्तमान समस्याका बारेमा छलफल समेत भएको थियो ।
प्रमुख जिल्ला अधिकारीको हैसियतबाट गर्न सक्ने यातायात व्यवसायीको समस्यालाई समाधान गर्ने तर्फ अध्यक्ष श्रेष्ठले प्रमुख जिल्ला अधिकारी श्रेष्ठलाई ध्यानाकर्षण समेत गराउनुभएको थियो । अध्यक्ष श्रेष्ठले समाज प्रतिको दायित्व आफुहरुले नबिर्सेको बताउनुभयो । अध्यक्ष श्रेष्ठले प्रमुख जिल्ला अधिकारीको मार्गदर्शन भित्र रहेर आफुहरु चल्न तयार समेत स्पष्ट पार्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रेष्ठले यातायात क्षेत्र व्यवस्थित नहुँदा सम्म शान्ति सुरक्षा कायम गर्न नसक्ने बताउनुभयो । नीतिगत रुपमा देखिएका केही जटिलताहरुलाई समाधान गर्न जरुरी भएको उहाँको भनाई छ । उहाँले यातायात क्षेत्रमा देखिएको बेथितिहरुलाई सुधार गर्न यातायात व्यवसायी स्वयम् लाग्नुपर्नेमा जोड दिनुभयो ।
एक अर्कासंग समन्वय गरी अगाडि बढ्दा सुशासन युक्त जिल्ला बनाउन सकिने उहाँले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी श्रेष्ठले नीति र विधि अनुसार हुने काममा प्रशासनको सधैं साथ रहने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।
स्वागत तथा सम्मान कार्यक्रममा महासचिव सरोजकुमार खनाल, निवर्तमान अध्यक्ष बद्रीप्रसाद चौलागाई लगायत संघका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।