विवाहको उमेर हद १८ वर्षमा झार्न सुझाव गलत छ

प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समिति अन्तर्गत गठित उपसमितिले विवाहको उमेर हद १८ वर्षमा झार्न सुझाव दिएको विषयमा मकवानपुर स्थित मानवअधिकार कर्मीहरुको ध्यानाकर्षण भएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ‘बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०८१’ ल्याउन लागेको अवस्थामा यो विषय आउनु असामान्य रहेको अस्मिता नेपालकी अध्यक्ष आरती पाठकले बताउनुभएको छ । गैर सरकारी संस्था बागमती प्रदेशको निवर्तमान अध्यक्ष समेत रहनुभएको पाठकले विगतमा भएका विभिन्न अध्ययन, अनुसन्धान अनुसार बालबालिकाको शिक्षा, स्वास्थ्य, मानसिक परिपक्वता लगायतका दृष्टिकोणले विवाहको उमेर २० कायम गरी नीति नियम र ऐन कानुनहरू तय गरिएको बताउदै उमेर हद कम गर्नु गलत भएको जनाउनुभयो । उहाँले भन्नुभयो “सम्पूर्ण सरोकारवालाको वृहत् छलफलबाट विवाहको उमेर २० पु¥याइएको र सो विषयलाई अहिले आएर फेरी १८ वर्षमा झार्ने कुरा बाल अधिकारको दृष्टिकोणले गलत हुने तथा बालमैत्री, पोषणमैत्री, बालश्रममुक्त स्थानीय तह घोषणा गर्ने लगायतका अभियानमा समेत यसले थप प्रभाव पार्न सक्नेछ ।” २०५५ सालमा स्थापना भएको अस्मिता नेपालले महिला र बालबालिकाको क्षेत्रमा काम गर्दै आएको र हालसम्मको अनुभवको आधारमा पनि बिबाहको लागि उपयुक्त उमेर २० बर्ष नै रहेको उहाँको निश्कर्ष छ ।
त्यसैगरी माइती नेपाल मकवानपुरकी संयोजक माया लामाले भन्नुभयो “ समग्र मानव विकास सूचाङ्कमानै असर पार्न सक्ने भएको हुँदा यस विषयलाई थप बहसको विषय नबनाई २० वर्षलाई नै कायम गरी कार्यान्वयनका पक्षमा आउनसक्ने समस्याहरू लागि स्थानीय तह लगायत तिनै तहका सरकार, नागरिक समाज, सम्बन्धित सरोकारवालाहरू बिच छलफल गरेर ठोस कार्यक्रम, बजेट तथा नीति तर्जुमा गरी अगाडि बढ्न सिजप सम्बन्धित सबैमा हाम्रो अनुरोध छ ।” उहाँको अनुसार उमेर हद कम गर्नु सामाजिक अन्याय हुनेछ ।
ग्रीन फाउण्डेशन मकवानपुरका अध्यक्ष निर्मलकुमार पौडेलले पनि उक्त सुझाब गलत भएको बताउनुभएको छ । उहाँको अनुसार शारिरिक, मानसिक मात्र नभई सामाजिक जिवनको लागि पनि परिपक्क हुन आबश्यक रहेको छ ।